सिराहा । सिराहामा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले सिराहाको दुई स्थानबाट लागूऔषधसहित दुई युवालाई पक्राउ गरेको हो ।
सिराहाको कर्जन्हा नगरपालिका ४ भुलके चोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १८ ट्याब्लेटसहित मकवानपुर मकवानपुरगढी नगरपालिका ४ बस्ने २७ वर्षीय रविन कुमार तिमल्सिनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले कर्जन्हाबाट बन्दिपुरतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरको हो ।
यसैगरी सिराहाको लहान नगरपालिका १ पडरिया टोल बस्ने २६ वर्षीय योगेश्वर चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय मिलिग्रामसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।






