काठमाडौं । जेन्जी मुभमेन्ट नेपालले देशमा स्थायित्व र सुशासनका लागि निर्णायक संघर्ष सुरु गर्ने घोषणा गरेको छ । काठमाडौंको कीर्तिपुरमा सम्पन्न आकस्मिक भेलाले विद्रोहका प्रमुख मुद्दाहरूलाई अपहरण गरिएको र युवा पुस्ताको बलिदानलाई राजनीतिक स्वार्थमा रूपान्तरण गरिएको आरोप लगाउँदै आन्दोलनको नयाँ चरण सुरु गर्ने निर्णय गरेको हो ।
भेलाले स्पष्ट रूपमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमाथि तीव्र आलोचना गरेको छ । मुभमेन्टले भनेको छ, “कार्कीहरूले बलिदानको नाममा सत्ता कब्जा गरेका छन् । यो आन्दोलनका सहिदहरू प्रति गरिएको विश्वासघात हो ।” भेलाका सहभागीहरूले कार्की नेतृत्वको सरकार सत्ता कु’को उपज रहेको रहेको दाबी गर्दै त्यसले विद्रोहका उपलब्धिलाई मोलमोलाइ गर्न खोजेको आरोप लगाए ।
जेन्जी मुभमेन्टका प्रवक्ता विजय शाहले भनेका छन्- “यो देशको नयाँ पुस्ताले केवल प्रतीकात्मक परिवर्तन होइन, संरचनात्मक रुपान्तरण खोजेको हो । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली र सार्वजनिक संस्थाहरूको पुनरसंरचना बिना स्थायित्व र सुशासन सम्भव छैन ।”
भेलाले दुई प्रमुख मागहरू प्रत्यक्ष कार्यकारी प्रणाली र संस्थागत पुन:संरचना पूर्ण नभएसम्म संघर्ष जारी राख्ने घोषणा गरेको छ । यसै सन्दर्भमा, मुभमेन्टले अबको आन्दोलनलाई शान्तिपूर्ण तर निर्णायक बनाउने प्रतिबद्धता जनाएको छ ।
भेलाले देशभरका युवाहरू, नागरिक समाज र सचेत वर्गलाई पुन: एकताबद्ध हुन आह्वान गर्दै भनेको छ, “हाम्रो बलिदान इतिहासको प्रतीक होइन, भविष्यको दिशा हो । यो पुस्ताले सत्य र परिवर्तनका लागि अन्तिमसम्म संघर्ष गर्नेछ ।” भेलामा जेन्जी आन्दोलनका अगुवा अजय सोडारीले नयाँ पुस्ताले गरेको विद्रोहका मुद्दाहरूलाई संस्थागत गर्नका लागि सबै जना मिलेर संघर्ष गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा आन्दोलनका आगामी चरण, जनसम्पर्क विस्तार र राष्ट्रिय समन्वय समिति गठन बारे पनि विस्तृत छलफल गरिएको बताइएको छ । मुभमेन्टले निकट भविष्यमै देशव्यापी अभियान सुरु गर्ने तयारी गरेको छ । भेलाले काठमाडौंमा कार्तिक २३ मा जेन्जी सभा गर्ने समेत निर्णय गरेको छ ।






