जनकपुरधाम । भारतको बिहार राज्यमा हुने विधानसभाको दोस्रो चरणको निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमाका नाका भोलिदेखि अस्थायी रूपमा बन्द हुने भएका छन् । धनुषा, महोत्तरी र रौतहट जिल्लाका प्रशासन कार्यालयहरूले संयुक्त रूपमा सूचना जारी गर्दै भोलि साँझ ६ बजेदेखि मंगलबार साँझ ६ बजेसम्म सबै सीमा नाका बन्द रहने जनाएका हुन् ।
धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार बिहारमा निर्वाचनका समयमा शान्ति–सुरक्षा व्यवस्थापन सुनिश्चित गर्न सीमानाका बन्द गर्न लागिएको हो । उनले भने, “यस अवधिमा नेपाल–भारतबीच मानवीय वा आकस्मिक सेवाबाहेक अन्य आवागमन पूर्ण रूपमा निषेध हुनेछ ।”
यस्तै, महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी संजयकुमार पोखरेलले पनि मंगलबार साँझ ६ बजेसम्म सीमा बन्द हुने जनाउँदै आम सर्वसाधारणलाई वैकल्पिक तयारी गर्न आग्रह गरेका छन् । त्यसैगरी, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बिहारको सितामढी र पूर्वी चम्पारण जिल्लामा हुने विधानसभाको दोस्रो चरणको मतदानलाई मध्यनजर गर्दै सीमा नाका बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।
सीमामा आवागमन रोकिएसँगै बिजलपुर–कुर्था–जनकपुरधाम–जयनगर रेल सेवा पनि अस्थायी रूपमा बन्द हुने भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडले एक सूचना जारी गर्दै सीमानाका बन्द रहने अवधिभर रेल सेवा स्थगित हुने र नाका खुलेपछि पुन: नियमित सञ्चालनमा आउने जनाएको छ । प्रशासनका अनुसार यस अवधिमा सुरक्षा निकायहरूलाई सीमा क्षेत्रमा कडाइका साथ सतर्क रहन निर्देशन दिइएको छ ।




