जनकपुरधाम । नेकपा माओवादी केन्द्रका मधेश प्रदेश सांसद रहबर अन्सारीले आजको प्रदेशसभा बैठकमा आफैंलाई मोसो दल्दै राजनीतिक व्यवस्था र दलहरूको नैतिक पतन प्रति प्रतीकात्मक विरोध जनाएका छन् ।
मुख्यमन्त्री जितेन्द्र सोनाले विश्वासको मत लिइरहेको बेला अन्तिम समयमा बोल्ने अनुमति पाएपछि सांसद अन्सारीले सभामुख समक्ष आफ्ना विचार राख्दै दल र सांसदहरू नैतिक रूपमा कमजोर बनेको आरोप लगाए ।
तर, उनी बोलिरहेका बेला सभामुख रामचन्द्र मण्डलले उनको माइक काटेपछि उनले आपत्ति जनाउँदै आफ्नै अनुहारमा मोसो दलेका हुन् । अन्सारीले भने, “यो सरकार यहाँका सांसदहरूले होइन, केन्द्रका आदेशमा बनाइएको हो । हाम्रो नैतिकता र स्वाभिमान दुवै गुमिसकेको छ ।”
उनले दल र नेतृत्वमा नैतिक मूल्य र सिद्धान्तको अभाव भएको भन्दै कठोर आलोचना गरे । अचानक भएको उक्त घटनाले प्रदेशसभाको वातावरण केहीबेर अशान्त बनेको थियो । सभामुखले बैठकलाई शान्त पार्दै कार्यसूची अघि बढाएका थिए ।




