धनुषा । धनुषाको विदेह नगरपालिका १ रेल्वे पटरी नजिक भारततर्फबाट नेपाल प्रवेश गर्दै गर्दा प्रहरीले एक किशोरलाई अवैध लागूऔषधसहित पक्राउ गरेको छ ।
शुक्रबार दिउँसो प्रहरीले कमला नगरपालिका ८ टेर्हा टोल बस्ने १८ वर्षीय किशोरलाई खैरो हेरोइन जस्तो देखिने ७ सय ४० मिलिग्राम लागूऔषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरी चौकी ठाडिझीझाबाट खटिएको टोलीले पैदल भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेका किशोरलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार अवैध लागूऔषध तस्करी, ओसार पसार र वितरणको अनुसन्धानका लागि आवश्यक छानबिन भइरहेको छ ।
यस घटनासँग सम्बन्धित थप तथ्याङ्क संकलन र कानुनी प्रक्रिया अघि बढाइरहेको प्रहरीले जनाएको छ ।






