रौतहट । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले अवैध लागुऔषध ट्रामोलसहित दुई जनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुरस्थित चेकपोइन्टमा नियमित चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालयकी डिएसपी रुपा लाबुगंका अनुसार पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी १६ का ३२ वर्षीय बुद्ध सिंह वाइबा र हरिवन ३ का २८ वर्षीय सरिन योन्जन रहेका छन् ।
चेकजाँचका क्रममा शंकास्पद देखिएपछि तलासी लिँदा उनीहरूको झोलाबाट १३० पिस ट्रामोल ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ ।
डिएसपी लाबुगंका अनुसार बरामद गरिएको औषधि बिना चिकित्सकीय नुस्खा अवैध रूपमा बोकेका कारण दुवै जनामाथि लागूऔषध व्यवस्थापन सम्बन्धी ऐन अन्तर्गत कानुनी कारबाही अघि बढाइएको छ ।






