सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा चिकित्सकमाथि हातपात भएको घटनापछि आइतबार रातिदेखि आकस्मिक कक्षबाहेकका सबै सेवा ठप्प भएका छन् ।
अस्पताल प्रशासनका अनुसार आइतबार राति एनआइसियू कक्षमा भएको विद्युत् सर्ट सर्किटबाट झरेको बल्बले त्यहीँ उपचाररत एक नवजात शिशु घाइते भएपछि आक्रोशित आफन्तले अस्पतालमा तोडफोड र चिकित्सकमाथि हातपात गरेका थिए ।
घटनामा निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. दिलिप साहमाथि हातपात भएपछि चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले विरोधस्वरूप आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका हुन् ।
अस्पताल प्रशासनले सोमबार सार्वजनिक सूचना जारी गर्दै हातपातमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी सुरक्षा प्रत्याभूति नहुँदासम्म सेवा सञ्चालन गर्न असमर्थ हुने जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डम्बरबहादुर पुरीका अनुसार घटनामा संलग्न रहेका चार जनालाई नियन्त्रणमा लिइएको छ । उनका अनुसार थप अनुसन्धान भइरहेको र अस्पताल परिसरमा कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ ।
घटनाको प्रारम्भिक विवरण अनुसार रूपनी गाउँपालिका ३ हर्दिया टोलकी रेखा यादवले जन्म दिएकी नवजात शिशुलाई स्वास्थ्य समस्या देखिएपछि एनआइसियूमा राखिएको थियो ।
साँझपख सर्ट सर्किट भएर झरेको बल्बले शिशुको टाउको र गालामा जलन भएपछि आफन्तले आक्रोशित हुँदै अस्पतालमा तोडफोड र चिकित्सकमाथि हातपात गरेका थिए ।
घाइते नवजात शिशुलाई तत्कालै एम्बुलेन्समार्फत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको र उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको निमित्त मेसु डा. साहले जानकारी दिए ।
अस्पतालमा तनावपूर्ण स्थिति सिर्जना भएपछि स्थानीय प्रशासनले सर्वपक्षीय बैठक बोलाएर समस्या समाधान र सेवा सुचारु गर्ने प्रयास थालेको छ ।




