जनकपुरधाम । मधेश प्रदेशमा बढ्दै गएको राजनीतिक तनावबीच सात दलका नेता तथा कार्यकर्ताले मंगलबार मधेश प्रदेश भवनअगाडि सभामुख रामचन्द्र मण्डलको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनमा नेकपा एमाले बाहेकका सबै प्रमुख दलका सांसद र कार्यकर्ता सहभागी भएका थिए ।
प्रदर्शनका क्रममा प्रदेश भवनअगाडि टायर बालिएको छ र सहभागीहरूले सभामुख मण्डलमाथि संविधान विपरीत सत्ता समीकरण एमालेको पक्षमा मोड्ने प्रयास गरेको आरोप लगाएका छन् । उनीहरूले मधेशमा संविधानको धारा १६८ (२) अनुसार सरकार गठन सम्भव हुँदा हुँदै पनि सभामुखले एमालेका लागि धारा १६८ (३) लागू गर्न सहयोग पुर्याएको भन्दै उनको तत्काल राजीनामा माग गरेका हुन् ।
मधेश प्रदेशमा हाल २५ जना एमाले सांसद रहेका छन्, जसमा एक जना निलम्बनमा छन् । ठूलो दलको हैसियतका आधारमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो । यही नियुक्तिलाई असंवैधानिक भन्दै सात दलले विरोध सुरु गरेका हुन् ।
विपक्षी दलहरूले आइतबारदेखि नै सभामुखको भूमिकाविरुद्ध चरणबद्ध आन्दोलन सुरु गरेका छन् । उनीहरूले आन्दोलन जारी रहने र आवश्यक परे संसद् अवरोध र कानुनी कदम समेत उठाउने चेतावनी दिएका छन् ।
राजनीतिक विश्लेषकहरूले मधेश प्रदेशको सत्ता विवादलाई संविधानको व्याख्या र सभामुखको निष्पक्षता माथिको विश्वाससँग जोड्दै यस घटनाले प्रदेशको स्थायित्वमा दीर्घकालीन असर पार्न सक्ने बताएका छन् ।




