जनकपुरधाम । धनुषामा एक जनप्रतिनिधिको हत्या प्रकरणमा नेपाल प्रहरीका एक सहायक हवलदारसहित दुई जना पक्राउ परेका छन् । शुक्रबार साँझ करिब ६:४५ बजे मिथिला बिहारी नगरपालिका ९ का वडाध्यक्ष बिन्देश्वर यादवको गोली प्रहार गरी हत्या भएको थियो ।
घटनामा संलग्न रहेको आरोपमा प्रादेशिक अस्पताल जनकपुरधाममै उपचाररत अवस्थाबाट एक जनालाई र एम्बुलेन्समार्फत भाग्न खोज्दा धारापानीबाट अर्को जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेशबहादुर बमका अनुसार पक्राउ परेकामध्ये एक जना सोही स्थानका ३५ वर्षीय धर्मनाथ यादव र अर्का ३५ वर्षीय शम्भु यादव, जो हाल सप्तरीमा कार्यरत नेपाल प्रहरीका सहायक हवलदार हुन्, घटनामा प्रत्यक्ष संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएका हुन् ।
प्रारम्भिक अनुसन्धान अनुसार स्थानीय प्रकाश यादवका बुवाको श्राद्ध भोजमा उत्पन्न विवाद मिलाउन पुगेका वडाध्यक्ष बिन्देश्वर यादवमाथि नियन्त्रणमा रहेका व्यक्तिहरूले गोली चलाएका थिए । घटनाको क्रममा वडाध्यक्षका दाजु तथा भाइमाथि पनि खुकुरी प्रहार गरिएकाले उनीहरू घाइते भएका छन् ।
हत्या तथा घाइते दुवैलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव अस्पताल पुगेका थिए ।
मुख्यमन्त्री यादवले पीडित परिवारलाई भेटेर घटनामा संलग्न कसैलाई उन्मुक्ति नदिइने र कठोर कारबाही प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।




