रौतहट । रौतहट प्रहरीले छुट्टाछुट्टै घटनामा संलग्न जग्गा किर्तेका दुई र अंगभंग मुद्दाका एक गरी तीन फरार अभियुक्तलाई पक्राउ गरेको छ । कटहरिया नगरपालिका १ मा रहेको ९ बिघा १८ कठ्ठा १५ धुर क्षेत्रफलका २४ कित्ता जग्गा किर्ते गरेर आफ्नो नाममा दर्ता गरेको आरोपमा हेटौंडा उपमहानगरपालिका ८ का ५२ वर्षीय राधाकृष्ण उपाध्यायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।
प्रहरीका अनुसार उपाध्यायले अदालतको फैसला र पत्र सरकारी छाप एवम् दस्तखत किर्ते गरी नक्कली कागजात तयार पारेका थिए र त्यही आधारमा योजनाबद्ध तरिकाले जग्गा आफ्नो नाममा दर्ता गराएका थिए । घटना सार्वजनिक भएपछि पीडित केशरप्रसाद पौडेलले प्रहरीमा निवेदन दिएका थिए ।
सोही मुद्दामा संलग्न कटहरिया १ का ४२ वर्षीय रामपुकार महतो कोइरीलाई प्रहरीले कात्तिक १३ गते नै पक्राउ गरिसकेको थियो । उनीहरू लिखित सम्बन्धी कसुर तथा किर्ते जग्गा दर्ता प्रकरणमा लामो समय फरार रहेका थिए । प्रहरीले दुवै जनालाई शनिबार सार्वजनिक गरेको हो ।
यस्तै, अंगभंग मुद्दामा फरार रहेका राजपुर नगरपालिका १ बहुअर्वा गाउँका वीरेन्द्र राय यादवलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । यादवले कात्तिक ७ गते बहुअर्वा गाउँस्थित माइती बस्दै आएकी गायत्री देवीलाई रिसिबी राखी बाँसको लाठी प्रहार गरी घाइते बनाएपछि फरार भएका थिए ।
घटना बारे प्रहरी निरीक्षक रुद्र कँडेलले जानकारी दिएका छन् । प्रहरीले सबै घटनामा थप छानबिन अगाडि बढाइरहेको जनाएको छ ।




