बारा । महेश बस्नेत र शंकर पोखरेलसहितका एमाले नेता काठमाडौंबाट सिमरा विमानस्थलमा ओर्लने जानकारी पाए पश्चात विमानस्थल घेर्न पुगेका जेन–जी पुस्ताका युवा र नेताको स्वागतमा जम्मा भएका एमाले कार्यकर्ताबीच झडप हुँदा विमानस्थल बन्द गरिएको छ ।
अहिले सिमरा विमानस्थल पूर्णरुपमा बन्द गरी उडान र अवतरण रोकिएको सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए । अवस्था नियन्त्रणबाहिर जाने आंकलन गर्दै स्थानीय प्रशासनले बाराको सिमरा विमानस्थल आसपासको क्षेत्रमा दिउँसो साढे १२ बजेदेखि बेलुका ८ बजेसम्मलाई कर्फ्यू आदेश जारी गरिएको भट्टराईले बताए ।
अहिले अवस्था नियन्त्रणमा आइसकेको उनले बताए । झडपका कारण सिमरास्थित विमानस्थल क्षेत्र अझै तनावग्रस्त छ । जेन–जी प्रदर्शनकारीले विमानस्थलको गेट भत्काइदिएका छन् । स्थिति तनावग्रस्त बनेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको सहायक प्रजिअ भट्टराईले बताए ।
नेकपा एमालेले बाराको परवानीपुरमा बुधबार मधेस प्रदेशस्तरीय युवा भेला आयोजना गरेको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा एमाले महासचिव शंकर पोखरेल, एमाले पोलिट्ब्युरो सदस्य तथा युवा संघ इञ्चार्ज महेश बस्नेत सिमरा आउँदै थिए ।
युवा भेला आयोजना गरेको थाहा पाएपछि बाराका केही युवाले कार्यक्रम बिथोल्ने गरी जेनजीको प्रदर्शनका लागि आह्वान गरेका थिए । सोही कारण बुधबार बिहानैदेखि सिमरा क्षेत्रमा युवाहरू जम्मा हुँदै थिए । अर्कोतिर काठमाडौंबाट आउन लागेका पार्टी महासचिव लगायतका नेतालाई स्वागत गर्न एमाले बाराका नेताहरू पनि विमानस्थलतर्फ जाँदै गर्दा बाटोमा दुवै पक्षबीच वादविवाद भएको थियो ।
विवाद चर्किदै जाँदा स्थिति तनावग्रस्त भई झडपको रुप लिएको थियो । त्यसपछि आक्रोशित युवाहरू विमानस्थल पुगेर तोडफोड सुरु गरेका थिए । काठमाडौंबाट आउने भनिएका नेताहरु उत्तै रोकिएका छन् । एमालेका नेताहरू निवर्तमान सांसदहरू किशान श्रेष्ठ, अच्युत मैनाली, ज्वाला साह लगायतका नेता विमानस्थलभित्रै सुरक्षा घेरा भित्र छन् ।




