सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका ५ मझौ टोलकी २२ वर्षीया सुमन कुमारी मण्डल दाइजोको निहुँमा निरन्तर हिंसा र घरनिकालाको शिकार बनेकी छन् । २०७८ साल फागुन २९ गते तिलाठी कोइलाडी गाउँपालिका ७ सडेपारका राधेश्यामसँग विवाह गरेकी सुमनले वैवाहिक जीवनसँग नयाँ आशा बोकेर घर प्रवेश गरेकी थिइन् । तर विवाहको चार दिनमै उनको सपना चकनाचुर भयो ।
दाइजो नल्याएको भन्दै कुटपिट
सुमनका अनुसार श्रीमान राधेश्याम, ससुरा शत्रुघन, सासु सोभा र नन्द अनिताले माग अनुसार दाइजो नल्याएको भन्दै उनलाई पटक पटक कुटपिट गरे । कुटपिटपछि उनलाई घरबाट निकालिदिइयो, र त्यसयता उनी माइतीघरमै बस्दै आएकी छन् ।
विवाह दर्ता गर्न पनि अस्वीकार
सुमनले विवाह दर्ता गर्न बारम्बार आग्रह गरेपनि श्रीमान र उनका परिवारले नमान्नुका साथै, उनले शारीरिक र मानसिक यातना सहनुपरेको बताइन् । उनका अनुसार, श्रीमानले अर्को विवाह गर्ने बाटो खुला गर्न पनि यस्तो व्यवहार गरिएको आशंका छ ।
दाइजो स्वरूप रकम, गरगहना
सुमनका बुवा कृष्णदेवका अनुसार, दुवै पक्षको सहमतिमा विवाह हुँदा २ लाख ५० हजार रुपैयाँ, आधी तोला सुन, लत्ता कपत्ता, भाँडाकुडा र फर्निचर उपलब्ध गराइएको थियो । तर त्यसपछि ससुराली पक्षले थप दाइजोका नाममा पाँच कठ्ठा जमीन माग्दै दबाब दिएको र अस्वीकार गरेपछि छोरीमाथि हिंसा बढ्दै गएको उनले बताए ।
न्यायका लागि प्रहरीले अदालतसम्म धाए
छोरीलाई यातना दिनेहरूविरुद्ध कारबाहीको मागसहित प्रहरी हुँदै अदालतसम्म गुहार लगाइरहेको सुमनका बुवाले बताए । यस विषयमा श्रीमान राधेश्यामसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । यो घटनाले दाईजो हिंसा अझै पनि ग्रामीण समुदायमा कति गहिरोसँग जरा गाडेर बसेको छ भन्ने तथ्य पुनः उजागर गरेको छ ।




