काठमाडौं । देशका तीन जिल्लामा भएको छुट्टाछुट्टै आगलागी घटनामा झन्डै २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । बारा, रौतहट र सप्तरीमा शुक्रबार र शनिबार भएका आगलागी घटनाले स्थानीयवासी आर्थिक रूपमा प्रभावित भएका छन् ।
बारा जिल्लाको सिम्रौनगढ नगरपालिका १० देवापुर टेटाका उमेश शर्माले आफ्नै घरमा सञ्चालन गर्दै आएको पसलमा गएराति आगलागी हुँदा पसल पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीबाट करीब ६ लाख ५९ हजार ५ सय रुपैयाँ बराबरको सामान क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रौतहटको राजदेवी नगरपालिका ५ हजमिनिया टोल निवासी बिनोद महतोको घरमा शुक्रबार दिउँसो आगलागी हुँदा करिब ५ लाख ९२ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । घरका सामाग्री पूर्ण रूपमा जलेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न बाँकी छ ।
यस्तै सप्तरीको तिरहुत गाउँपालिका ४ डिमनका ३६ वर्षीय ईबराहिम मंसुरीको स १ त ३५४३ नम्बरको ट्याक्टरमा जोडिएको थ्रेसरले धान दाउनी गर्ने क्रममा शनिबार दिउँसो आगलागी भएको हो । आगलागीबाट ट्याक्टर, थ्रेसर तथा धान जलेर करिब १२ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागी निभ्याउने क्रममा ट्याक्टर चालक घाइते भएका छन् । उनको गजेन्द्र नारायण सिंह अस्पताल, राजबिराजमा उपचार भइरहेको छ ।






