रौतहट । कटहरिया नगरपालिका १ का वडा सदस्य सतलाल दास अर्काकी विवाहित महिलालाई भगाएर फरार रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । तीन सन्तानकी आमालाई ललाइफकाइ घर परिवार र सम्पत्तीसहित लिएर भगाएको समाचार सार्वजनिक भएपछि दासलाई शुक्रबार गौरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
निर्वाचित जनप्रतिनिधि दासमाथि आफूले गठन गरेको उपभोक्ता समितिको सचिव बनाइ आफ्नै वडाकै दलित महिलासँग ‘निकटता’ बढाउँदै भगाएको गम्भीर आरोप लागेको छ । चार छोराछोरीका बुवा रहेका दासले सम्बन्धको बहानामा महिलाको घरमा भएको पैसा, सुनचाँदी र जग्गासम्मको धितो रकम समेत लिएको पीडित पक्षको दाबी छ ।
पीडित महिलाका बुबाका अनुसार २०७२ सालमा विवाह भएकी छोरी दाससँग विकास–निर्माण सम्बन्धी कामका क्रममा नजिकिएको र त्यहीबाट अवाञ्छित सम्बन्ध सुरु भएको हो । विदेशमा रहेका श्रीमान कृष्णनन्दन दासले पठाइदिएको करिब १२ लाख रुपैयाँ, तीन लाख रूपैयाँ बराबरका सुन चाँदीका गहना तथा पाँच कठ्ठा जग्गा दासले धरौटीमा राखेर रकम निकालेको परिवारले आरोप लगाएको छ । पछिल्लो केही महिनादेखि महिला बाराको निजगढमा दाससँगै भाडाको कोठामा बस्दै आएकी थिइन् ।
स्थानीयले लामो खोजीपछि दुवैलाई एउटै कोठाबाट फेला पारेर बारा प्रहरीले इलाका प्रहरी कार्यालय गरुडामा बुझाएको थियो । सोही दिन कटहरियाका मेयर अजयप्रकाश जैसवालको पहलमा उनीहरूलाई जिम्मा–जमानीमा छोडिएको थियो । तर घटनाले सामाजिक सञ्जालदेखि स्थानीय राजनीतिक वृत्तसम्म ठूलो बहस र असन्तोषको माहोल सिर्जना गरेको छ । जातीय संगठन ‘राष्ट्रिय तत्मा समाज’ समेत सक्रिय हुँदै पीडित परिवारसँग निरन्तर समन्वय गरेको छ ।
पक्राउ परेका दासमाथि कानुनी कारबाहीका लागि आवश्यक प्रमाण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालले बताए । विदेशमा रहेका श्रमिकहरूले पठाएको रकम दुरुपयोग भएको दाबी सत्य ठहरिए दासविरुद्ध क्षतिपूर्तिसहित कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
उता महिला भने आफू घरमा शारीरिक र मानसिक हिंसा सहन बाध्य भएकाले ‘सुरक्षाका कारण’ घर छोडेको बताउँदै आएकी छन् । घटनाले सात बालबालिकाको भविष्य अस्थिर बनाउनुका साथै विदेशमा रहेका युवाहरूले आफ्नो कमाइ कसको भरोसामा पठाउने भन्ने गम्भीर प्रश्न उठाएको स्थानीयवासीको टिप्पणी छ ।




