बारा । बाराको पचरौत नगरपालिका सीमावर्ती गाउँ चिकनीमा आइतबार राति भन्सार छली रोक्ने प्रयासमा नेपाल प्रहरी र तस्कर समूहबीच गोली हानाहान भएको छ । भारतबाट ट्याक्टरमा लोड गरेर नेपालतर्फ ल्याउँदै गरिएको भन्सार छलीका मालवस्तु नियन्त्रणमा लिन प्रहरी खटिँदा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए ।
प्रवक्ता पण्डितका अनुसार, भारततर्फबाट ट्याक्टरमा लोड गरेर भन्सार छलीका सामग्री ल्याउँदै गरेको सूचना पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । तर ट्याक्टरलाई नियन्त्रणमा लिएर जिल्लातर्फ लैजान खोज्दा तस्कर समूहले प्रहरीमाथि गोली प्रहार गर्न सुरु गरेको थियो ।
प्रहरीको बचाउका लागि ६ राउन्ड गोली चलाउन परेको छ भने तस्कर समूहबाट दुई राउन्ड गोली प्रहार भएको उनले बताए । प्रहरीले घटनास्थल नजिकैको ईंटाभट्टा क्षेत्रमा ट्र्याक्टरमा लोड अवस्थामा रहेको भन्सार छलीका मालवस्तु नियन्त्रणमा लिएको थियो ।
तर केही संख्यामा रहेको तस्कर समूहले प्रहरीलाई गोली चलाउँदै माल सामानसहित भारतको सीमावर्ती बिन्धवासिनी गाउँतर्फ लिँदै गएको छ । घटनास्थलबाट चारवटा भारतीय नम्बर प्लेट भएका मोटरसाइकल, दुई वटा मोबाइल र भारतीय आधार कार्ड पनि फेला परेको छ ।
प्रहरीले नियन्त्रणमा लिएको ट्र्याक्टरमा के–कस्तो सामाग्री रहेको हो भन्ने पहिचान अझै गर्न नसकेको बताइएको छ । तस्कर समूहको पहिचान भएपछि आवश्यक कारबाही गरिने पनि प्रवक्ता पण्डितले बताए ।




