जनकपुरधाम । सीताराम विवाह पञ्चमी महोत्सवका क्रममा मन्दिर वरिपरि भीड बढ्दै गएपछि ट्राफिक व्यवस्थापनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले विशेष योजना तयार पारेको छ । प्रहरी निरीक्षक सुर्यबहादुर शाहीका अनुसार विवाहपञ्चमीमा ट्राफिक व्यवस्थापनको “गुरु योजना” अन्तर्गत १४० जनाको ट्राफिक जनशक्ति खटाइएको छ ।
मन्दिर वरिपरि निर्धारित क्षेत्रमा सवारीसाधनको प्रवेश निषेध गरिएको छ भने मोटरसाइकलको हकमा स्थानीय बासिन्दा र अस्पताल जाने व्यक्तिहरूलाई व्यवस्थित रुपमा अनुमति दिइएको छ । जनकपुर प्रवेश गर्ने सवारीसाधनहरूको लागि विशेष पार्किङ्ग व्यवस्थापन गरिएको छ ।
पूर्वतर्फ यदुकुहाबाट आउने सवारीका लागि पुल चौकको ५२ विघा, कप्लेश्वर तर्फबाट आउनेका लागि कप्लेश्वर चौकी नजिकको चौर, पश्चिमतर्फ बलवा बिसपिट्टीबाट आउनेका लागि बलवा चौकी छेउ र आँखा अस्पताल अगाडि अग्नी कुण्डमा पार्किङ्ग व्यवस्था गरिएको छ ।
दिक्षिणतर्फ जलेश्वरबाट आउने सवारीका लागि नयाँ बस पार्कदेखि विन्हीसम्म र बिन्ही ६ लेन सडकमा, जटहीबाट आउनेका लागि ६ लेनमै, उत्तरतर्फ मुजेलियाको कवडहलको प्राङ्गणमा पार्किङ्ग छुट्याइएको छ । विवाहपञ्चमी महोत्सव एक सातासम्म चल्नेछ ।
जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवका अनुसार यस वर्ष करिब १० लाख श्रद्धालु सहभागी हुने अनुमान गरिएको छ । नेपालसहित भारतका विभिन्न स्थानबाट भक्तजनहरू ऋाउन थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ र ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।





