रौतहट । दुर्गा भगवती गाउँपालिकामा सञ्चालनमा रहेका निजी विद्यालयहरूले फास्टफुडका नाममा जंकफुड बिक्री वितरण गर्दै नानी–बाबुहरूको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको आरोप लगाउँदै न्यायिक समितिमा लिखित उजुरी परेको छ ।
दुर्गा भगवती ३ निवासी रवीन्द्र चौधरीले पालिकाको न्यायिक समितिमा बुधबार दर्ता गराएको उजुरीमा वडा ३ मा रहेको दुर्गा भगवती विद्यापीठ ज्ञानोदय बोर्डिङ स्कुलले टिफिन समयमा बालबालिकालाई जंकफुड बिक्री गर्दै स्वास्थ्यसँग खेलवाड गरेको गम्भीर आरोप उल्लेख गरेका छन् ।
चौधरीका अनुसार जंकफुड तथा अत्यधिक प्रशोधित खाद्य पदार्थले स–साना बालबालिकाको पाचन प्रणालीमा दीर्घकालीन असर पर्न सक्ने भएकाले स्थानीय तह मातहतका निजी विद्यालयहरूको तत्काल अनुगमन आवश्यक छ ।
उजुरीमा विद्यालयभित्र साथै सीमापारी भारतबाट ल्याइएका कपी, कलम, पेन्सिल लगायतका शैक्षिक सामाग्री अनियमित रूपमा बिक्री वितरण भइरहेको आरोप समेत लगाएका छन् । यस्तो गतिविधि तत्काल बन्द गरी विद्यालयका सञ्चालक विजय वर्मा लगायत सम्बन्धीत व्यक्तिमाथि शिक्षा मापदण्ड अनुसार कारबाही गर्न माग गरिएको छ ।
चौधरीले यस्तो समस्या एउटै विद्यालयमा सीमित नभई जिल्लाभरिका धेरै बोर्डिङ स्कुलमा समान गतिविधि दोहोरिइरहेको दाबी गर्दै जिल्ला शिक्षा समन्वय इकाईले नियमित अनुगमन गरेर कारबाही प्रक्रिया अघि बढाउन सुझाव दिएका छन् ।
उनका अनुसार जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयसहित सरोकारवाला सबै निकायले समय समयमा निगरानी गर्ने हो भने यस्ता अव्यवस्थित र स्वास्थ्यविरोधी क्रियाकलाप रोक्न सहज हुनेछ ।




