सप्तरी । उपचार खर्च तिर्न नसक्दा सप्तरीका एक बिरामी अस्पतालमै अलपत्र परेका छन् । राजविराज नगरपालिका ७ का ५४ वर्षीय अनिरुद्ध प्रसाद देव गोल्डेन हस्पिटल, विराटनगरमा डेढ महिनादेखि घर फर्कन नसकिरहेको परिवारले बताएको छ ।
तिलाठी कोइलाडी गाउँपालिकामा अनिरुद्धलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । दुर्घटनापछि चालक फरार रहँदा देवलाई गम्भीर टाउको चोटका कारण तत्काल विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको थियो । सोही अस्पतालमा टाउकोको शल्यक्रिया गर्दा पाँच लाख रुपैयाँ खर्च भइसकेको छ ।
अस्पतालको बिल तथा औषधि खर्चसहित अझै करिब पाँच लाख रुपैयाँ तिर्न बाँकी रहेको देवका छोरा रामभजन देवले जानकारी दिए । उनका अनुसार शल्यक्रियापछि बुवाको स्वास्थ्य अवस्था सामान्य भएपनि आर्थिक अभावका कारण अस्पताल छोड्न नसकेको पीडा छ ।
“बक्यौता तिर्न नसक्दा बुवालाई घर लैजान सकेका छैनौँ,” रामभजनले बताए । उनले बुबाको उपचारमा लागेको बाँकी रकम तिर्नका लागि सहयोग गर्न सबैसँग हार्दिक अपिल गरेका छन् ।




