सुनसरी । सशस्त्र प्रहरीले बिहीबार बिहान सुनसरीको चाँदवेला क्षेत्रबाट १५३ केजी गाँजासहित एक जनालाई हवाई फायर गरी नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा खटिएको टोलीले बा १५ च २१७३ नम्बरको स्कारपियोसमेत बरामद गरेको हो । पक्राउ परेका व्यक्ति इनरुवाका २० वर्षीय आदित्य चौधरी रहेका छन् ।
सशस्त्र प्रहरी कोसी प्रदेशस्तरीय मुख्यालय पकली सुनसरीका डीआईजी कुमार न्यौपानेका अनुसार छ पोकामा प्याक गरिएको गाँजा सहित युवकलाई नियन्त्रणमा लिन खोज्दा भाग्ने संकेत देखिएपछि हवाई फायर गरी रोकिएको थियो । बिहानै मोटरसाइकलले स्कर्टिङ (पहिलेबाट मार्ग बनाइदिने) गर्दै भारततर्फ लैजाने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी सुनसरीका एसपी निर्मल थापाले भित्री बाटो हुँदै भारततर्फ गाँजा तस्करी गर्ने समूह सक्रिय रहेको जानकारी दिँदै पछिल्लो समय मुख्य रुट परिवर्तन भएको बताए । पक्राउ परेका चौधरी र बरामद गरिएको गाँजा बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






