बारा । बारा जिल्लाको फेटा गाउँपालिका १ स्थित अकुवनिया गाउँ बिहे भोजको खुसी एकाएक मातममा बदलिएको छ । भारतको बिहार राज्यमा कात्तिक ३१ गते भएको सडक दुर्घटनामा गाउँका ४२ वर्षीय हरिशङ्करप्रसाद कुशवाहाको ज्यान गएपछि गाउँभरि शोकको गहिरो छाया परेको छ । ११ दिन बितिसक्दा पनि घरपरिवार र गाउँलेहरू अझै स्तब्ध छन् ।
परिवारमा असह्य पीडा
मृतकका ८२ वर्षीय बुबा सत्यनारायण महतो छोराको निधनपछिको सन्नाटाले यति गहिरो छ कि बोल्नै नसक्ने जस्ता पुगेका छन् । उनी गएराति मात्र श्राद्ध कर्मका लागि परिवारका दुई जनासहित भारतको गया पुगेका थिए ।
मृतकका ठूला दाइ रामेश्वरप्रसाद कुशवाहाका अनुसार बुबा भोलि फर्कनेछन् भने घरमा बाँकी संस्कार शनिवार पूरा गरिनेछ । मृतककी पत्नी आघातबाट उक्लिन नसकेकी छिन् । नाबालक छोरा–छोरी आमाको काखमा चुपचाप बसेर घरको शून्यतासँगै रोइरहेका छन् ।
विवाह समारोहमा पुगेका बेला दुर्घटना
हरिशङ्करप्रसाद श्रीमती, १४ वर्षीय छोरा र ११ वर्षीया छोरीसहित ससुरालीको विवाह समारोहमा सहभागी हुन भारतको पश्चिम चम्पारणको नरकटियागंज पुगेका थिए । उनी बेहुला सोनुकुमारका फुफाजु थिए । विवाहको तयारी उत्कर्षमा थियो । वरमाला कार्यक्रम सम्पन्न हुँदै थियो । केही जन्ती खाना खाइसकेर फर्किने तयारीमा थिए ।
त्यही बेला अचानक तीव्र गतिमा आएको कारले नियन्त्रण गुमाउँदै भीडमा पसेर त्रासदी निम्त्यायो । दुर्घटनास्थल एकछिनमै चिच्याहट, भागदौड र रगताम्य दृश्यमा बदलियो । दुर्घटनामा हरिशङ्करसहित पाँच जनाको घटनास्थलमै मृत्यु भयो भने एकजनाले बेतिया अस्पतालमा उपचारका क्रममा ज्यान गुमाए । दर्जनौँ घाइतेहरू बेतिया अस्पतालमा उपचाररत छन् ।
विवाह घरमा मातम, चालक पक्राउ
दुर्घटनापछि खुसीले भरिएको विवाह घर एकाएक रुवाबासीमा बदलियो । बेहुला बेहुलीका नातागोता, जन्ती, घरधुरी सबै स्तब्ध बने । बाँकी विधि विधान न्यूनतम रूपमा सम्पन्न गरियो र बेहुलीलाई पनि तत्काल बिदाइ गरी बेहुलाको घर ल्याइयो ।
दुर्घटना गरी फरार भएको कार चालकलाई भारतीय प्रहरीले पक्राउ गरेर कारवाही अघि बढाइसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । अकुवनिया गाउँमा अहिले असाध्यै पीडा भरिएको माहोल छ । गाउँलेहरू भन्छन्- “११ दिन भयो, तर शोक अझै हटेको छैन ।”




