सिरहा । विद्यालय परिसरजस्तो संवेदनशील क्षेत्रमा बिना कुनै स्वीकृति कार्यक्रम सञ्चालन गर्ने स्थल बनाइएको प्रति स्थानीय आक्रोशित बनेका छन् । विद्यालयभित्र कुनै पनि कार्यक्रम गर्नुअघि सम्बन्धित निकायको अनुमति लिनुपर्ने कानुनी व्यवस्थाको धज्जी उडाइएको छ ।
कानुनी व्यवस्थाको धज्जी उडाउँदै सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ११ मा रहेको श्री माध्यमिक विद्यालय बल्कावाका व्यवस्थापन समितिका अध्यक्ष तथा हेल्पिङ हर्ट नेपालका अध्यक्ष जियाउदिन खान र विद्यालय प्रशासनले कानुनी व्यवस्थालाई वेवास्ता गर्दै कक्षा संचालनकै समयमा विद्यालय परिसर प्रयोग भएको स्थानीयको भनाइ छ ।
विद्यार्थीको पठन पाठन प्रभावित पार्दै विद्यालय परिसर निजी प्रयोजनमा दुरुपयोग गर्नु केवल कानुन उल्लङ्घन मात्र नभई, विद्यालयको मर्यादा, अनुशासन र विद्यार्थीको शैक्षिक अधिकारमाथिको प्रत्यक्ष अतिक्रमण भएको स्थानीय युवा विजय भुसन यादवले बताए ।
विद्यालयका प्रधानाध्यापक बेचन प्रसाद साहले आफूसँग अध्यक्षले अनुमती लिनुपर्नेमा नभएको बताए । ‘अध्यक्ष आफै कार्यक्रम संचालक अनि अनुमतिको कुरै भएन् । मौखिक जानकारी थियो, लिखित थिएन्,’ उनले भने । तर हेल्पिङ हर्ट नेपाल एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जियाउदिन खानले आफूले अनुमती लिएर नै कार्यक्रम गरेको दावी गरे ।
पत्रकारले अनुमती पत्र माग गर्दा पछि दिन्छु भन्दै उनी पन्छिए । नगरपालिका, शिक्षा शाखा र अन्य नियामक निकायले यस बारेमा कुनै जवाफ दिएको छैन् । विगतको दिनमा पनि विद्यालयमा बिना अनुमती कन्सर्टहरु नचाउने गरेको स्थानीयहरुको भनाइ छ ।




