रौतहट । रौतहटको गुजरा नगरपालिका ९ सिमरा भवानीपुर चोकमा रहेको परम्परागत शैलीमा निर्माण गरिएको प्रतिक्षालय स्थानीय सामाजिक जीवनको महत्वपूर्ण केन्द्र बन्दै आएको छ ।
गाउँ घरमा देखिने यस्ता छानायुक्त गोलाकार प्रतिक्षालयहरू केवल बस प्रतीक्षा गर्ने स्थान मात्र नभई स्थानीय बासिन्दाहरूको दैनिक भेटघाट, छलफल, विश्राम र सामुदायिक कुराकानी गर्ने थलोका रूपमा उपयोग हुँदै आएका छन् ।
सिमरा भवानीपुर चोकस्थित प्रतिक्षालयमा बिहान साँझ स्थानीय नागरिकदेखि दैनिक यात्रुहरूसम्म भेला हुने गरेका छन् । यहाँ बस्ने व्यक्तिहरूले गाउँका चलन चल्तीका विषय, कृषि, सामाजिक गतिविधि, बजारीकरणदेखि स्थानीय समस्यासम्म खुला रूपमा छलफल गर्ने गरेको देखिन्छ ।
यस्ता प्रतिक्षालयहरूले गाउँका मानिस बीच सामाजिक सम्बन्ध मजबुत बनाउनुका साथै सामुदायिक एकता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको स्थानीयवासीहरू बताउँछन् ।
सहर बजारतिर आधुनिक बस स्ट्यान्ड र प्रतीक्षा कक्षको विकास भइरहेको अवस्थामा ग्रामीण क्षेत्रमा यस्ता परम्परागत प्रतिक्षालयहरू सामुदायिक जीवनशैली, सामाजिक बन्धन र स्थानीय संस्कृति जगेर्नाको प्रतीक मानिन्छ ।




