सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका तत्कालीन मेयर रामपुकार साह एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेको घटनामा पीडित नै ‘होस्टाइल’ भएको पाइएको छ । उजुरीकर्ता जसोधा कुमारीले विशेष अदालतमा बकपत्रमा बयान फेरेको पाइएको हो ।
कल्याणपुर नगरपालिका ६ स्थित भोक्राहामा २० लाख बजेटमा निर्माण भएको नालाका उपभोक्ता समितिसँग तत्कालीन मेयर साहले २० प्रतिशत कमिसन मागेका थिए । तर, उपभोक्ता समितिले रकम दिन नसकेपछि मेयर साहले योजनाको चेक दिन मानेनन् ।
एक साताको बार्गेनिङपछि मेयर साहले चेक लिनुअघि कम्तीमा १ लाख रुपैयाँ दिनुपर्ने अड्डी कसेपछि उपभोक्ता समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासमा उजुरी गर्यो । जसोधा यसै उपभोक्ता समितिका अध्यक्ष हुन् ।
अख्तियारमा जसोधा र उपभोक्ता समितिले निर्णय नै गरी काम गर्ने जिम्मेवारी दिएका स्थानीय कुशेश्वर साहले संयुक्त रूपमा दिएको उजुरीपछि अख्तियारको टोलीले साहलाई असार ३२ मा घुस लिइसकेको अवस्थामा कार्यालयबाटै पक्राउ गरेको थियो ।
अख्तियारले अनुसन्धानपछि साहमाथि गत साउन २३ मा विशेष अदालतमा घुस रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धि मुद्दा दायर गरेको थियो । आयोगले साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो एक लाख र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद माग दाबी गरेको छ ।
यो मुद्दा विशेष अदालतमा अझै विचाराधीन छ । पछिल्लोपल्ट मंसिर ३ मा मुद्दा पेशी चढेको थियो । तर, प्रतिवादी निलम्बित मेयरको कानुन व्यवसायीले स्थगित गराएका थिए । विशेष अदालतका अनुसार, यही मंसिर १५ मा फेरि मुद्दा पेशी चढ्दै छ ।




