बारा । बाराको प्रसौनी गाउँपालिका ६ स्थित किरण वेभरेज प्रालीका प्रबन्धक रामकिशोर सिंहको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका २२ का २१ वर्षीय राजनकुमार राम र सोही ठाउँका ३२ वर्षीय प्रमोद साह तुरहा रहेका छन् ।
सिंहको हत्या गरेर फरार भएका उनीहरूलाई प्रहरीले घटना भएको १८ घण्टामै नियन्त्रणमा लिएको थियो । भारतीय सीमा क्षेत्रबाट मंसिर १२ गते राति नै पक्राउ परेका उनीहरूलाई बारा जिल्ला अदालतबाट आइतबार ७ दिन हिरासतमा राख्ने अनुमति लिएपछि प्रहरीले सार्वजनिक गरेको हो ।
उनीहरुले मंसिर ११ गते राति पानी उद्योगका प्रबन्धक सर्लाही धनकौल गाउँपालिका २ का ५० वर्षीय सिंहलाई धारिलो हतियारले रेटेर हत्या गरेका थिए । हत्यापछि उनीहरुले सिंहको शवलाई उद्योग भन्दा करिब २५ मिटर उत्तरतर्फको झाडीमा लुकाएर फरार भएका थिए ।
घटनाको अनुसन्धानका क्रममा उद्योगमा चालकको रुपमा कार्यरत रामको संलग्नता हुन सक्ने देखेपछि प्रहरीले राम केन्द्रित अनुसन्धान अघि बढाएको थियो । राम उक्त उद्योगमा चालकको रुपमा कार्यरत थिए । आचरण राम्रो नभएको भन्दै प्रबन्धक सिंहले उनलाई मंसिर १० गते कामबाट हटाएका थिए भने मंसिर ११ गते काम गरे बापतको ज्याला दिई पठाएका थिए ।
उद्योगबाट उत्पादित पानी व्यक्तिगत मुनाफाका लागि बजारमा बढी मूल्यमा बिक्री गर्ने गरेको थाहा पाएपछि प्रबन्धक सिंहले रामलाई हटाएको प्रहरीको भनाइ छ । सिंह र रामबीच अघिल्लो वर्षको मंसिर महिनामा समेत वादविवाद भएको थियो ।
वादविवादपछि उद्योग छोडेर गएका राम कात्तिक १ गतेदेखि पुन: चालकका रुपमा काम गर्दै आएका थिए । प्रबन्धक सिंह र चालक रामबीचको सम्बन्ध राम्रो थिएन । पछिल्लो पटक कात्तिक १० गते कामबाट हटाएपछि रामले सिंहको हत्या गर्ने योजना बुनेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
सिंहले वीरगन्जस्थित एक होटलमा प्रमोद साह तुरहासँग मदिरा सेवन गर्दै हत्याको योजना बुनेका थिए । योजना अनुसार वीरगन्जबाट राति करिब १० बजे उद्योगमा आएका उनीहरुले सिंहमाथि धारिलो हतियार र इँट्टा प्रहार गरेर हत्या गरेका हुन् ।
सो क्रममा उनीहरुले उद्योग भित्रको सीसीटीभी क्यामरा समेत फुटाएका थिए । घटनालगत्तै प्रहरी उपरीक्षक नरेन्द्र कुवँर र अपराध अनुसन्धान शाखाका प्रहरी नायब निरीक्षक दीपक बस्नेतको टोलीले अनुसन्धान थालेको थियो । अनुसन्धाका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको थियो ।
पक्राउ परेका रामले हत्यामा आफ्नो संलग्नता रहेको स्वीकार गरेका छन् । रामले आफूलाई कामबाट हटाएको आक्रोशमा सिंहको हत्या गरेको प्रारम्भिक बयान प्रहरीलाई दिए । तुरहा र आफू मिलेर सिंहको हत्या गरेको बयान रामले दिएपछि प्रहरीलाई घटनाको अनुसन्धान गर्न सहज भएको छ ।
बाराका निमित्त प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी खेमप्रसाद नेपालले हत्यामा प्रयोग गरिएका धारिलो हतियार समेत बरामद भएको जानकारी दिए । उनीहरुविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान थालिएको नेपालले बताए ।




