काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइरालामाथि घुस सम्बन्धी मुद्दामा विशेष अदालतले दिएको आंशिक सफाईविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ ।
आयोगका अनुसार कोइरालाले सेवा प्रवाहका क्रममा बिल भुक्तानी गरि दिने भन्दै सेवाग्राहीसँग घुस एवम् रिसवत मागी लिएको प्रमाणित भएकाले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गत मुद्दा दायर गरिएको थियो । अख्तियारले सोही ऐनको दफा ३ (१) बमोजिम रु ६,००,००० बिगो कायम गरी कैद तथा बिगो बराबर जरिवाना माग दाबी गरेको थियो ।
त्यसैगरी, कोइरालाले आफू बहाल रहेको पदसँग सम्बन्धित कार्यका लागि सेवाग्राहीसँग ‘सापटी’का नाममा रु १,०४,००० लिएको पाइएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५ अन्तर्गतको कसूरमा पनि छुट्टै मुद्दा दायर गरिएको आयोगको भनाइ छ ।
उक्त मुद्दामा पनि ऐनको दफा ५ (१) बमोजिम कैद सजाय तथा बिगो जफत हुन मागदाबी गरिएको थियो । विशेष अदालतले मिति २०८१ फागुन ७ गते कोइरालालाई आंशिक सफाई दिएको थियो । सो फैसला प्रति चित्त नबुझी अख्तियारले २०८२ मंसिर १४ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जनाएका छन् ।






