काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वागमतीनगर जग्गा एकिकरण आयोजना, काठमाडौंमा कार्यरत शाखा अधिकृत याम कुमार कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतको फैसला प्रति असन्तुष्ट भएर सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ ।
आयोगका अनुसार कार्कीले आफ्नो पदको दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको प्रमाणित भएको छ । यस प्रकरणमा अख्तियारले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) अनुसार कुल रु. ३,२१,३२,९५६.७५ बिगो कायम गरी सजाय मागेको थियो ।
साथै, आयोगले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, १६(ग), दफा २९(१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२), दफा ४७, साथै प्रचलित अख्तियार ऐन, २०४८ को दफा २९ (ख) अनुसार बिगो जफत र असुलको माग समेत गरेको थियो ।
विशेष अदालत, काठमाडौंले मिति २०८१।०९।०२ मा कार्कीलाई आंशिक सफाई दिएको थियो । अख्तियारले उक्त फैसला प्रति चित्त नबुझी मिति २०८२।०८।१४ मा सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।






