पर्सा । पर्सा प्रहरीले एक सय किलोभन्दा बढी लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । गाँजा ओसार पसार भइरहेको सूचनाका आधारमा प्रहरीले सवारी साधन तथा पैदल यात्रुहरूलाई चेक गर्ने क्रममा कारबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको हो ।
मनवाबाट रंगपुरतर्फ जाँदै गरेको बा अ ब ९३९८ नम्बरको कार रोकी खान तलासी गर्दा कारबाट १० वटा पोकामा लुकाइ राखिएको १ सय ४ किलो गाँजा बरामद गरिएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी राजु कार्कीले जानकारी दिए ।
उनका अनुसार मकवानपुर भिमफेदी गाउँपालिका ८ का ३२ वर्षीय भिम स्याङ्तान र मकवानपुर मकवानपुरगढी गाउँपालिका १ आपटारका ३८ वर्षीय कुमार स्याङ्तानलाई पक्राउ गरिएको छ । गाँजा तस्करीमा प्रयोग गरिएको कारसहित उनीहरुलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
उनीहरूलाई कार तथा गाँजासहित नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।




