रौतहट । रौतहटबाट ११८ थान नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको देवाही गोनाही बस्ने २० वर्षीय अजय पटेल, २१ वर्षीय गेनालाल पटेल र भारतको बिहारको मोतिहारी पुर्वी चम्पारण बस्ने जयप्रकाश कुमार रहेका छन् ।
ईशनाथ नगरपालिका ४ लत्मरी टोलमा प्रहरी चौकी मठिया महुलिया र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट मठिया रौतहटबाट खटिएको संयुक्त गस्ती टोलीले चेकजाँचका क्रममा भारततर्फबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उनीहरुको साथबाट हजारका नक्कली नोट ११८ थान ९ एक सय १८०, मोटरसाइकल र मोबाइल ३ थान बरामद गरिएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल रोकी चेकजाँच गर्न खोज्दा मोटरसाइकलमा रहेका उनीहरूले मोटरसाइकल छाडी खेत हुँदै जाली नोट फालेर भाग्न लाग्दा पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




