सिराहा । धनुषा जोड्ने कमला नदीमा भासिएको पुल पुनर्निर्माणका लागि जनस्तरबाटै अभियान सुरु भएको छ । सरकारी तहबाट ठोस पहल नदेखिएपछि सिरहाको औरही नगरपालिकाले यस अभियानलाई सहयोगस्वरूप एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको हो ।
मधेश प्रदेशको जीवनरेखा मानिने कमला नदीमा बनाइएको पुल सञ्चालनमा आउने पूर्वसन्ध्यामा नै चार वर्षअघि बाढीले भासिएपछि आजसम्म पुनर्निर्माणको काम अघि बढ्न सकेको छैन । हुलाकी सडक निर्माण अभियन्ता तथा वरिष्ठ लेखक रामरिझन यादवले गत शनिबारदेखि जनस्तरमा चन्दा संकलन गर्दै पुल निर्माण अभियान प्रारम्भ गरेका थिए ।
उनले सरकारी बेवास्ताका कारण अब जनसहयोगमार्फत काम अघि बढाउनु पर्ने स्थिति आएको बताउँदै थप सहयोग जुटाउन विष्णु महायज्ञ गर्ने तयारी समेत भइरहेको जानकारी दिए । यही मंसिर ५ गते ऊर्जा, जलस्रोत तथा सिंचाइ तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले भासिएको पुलको स्थल निरीक्षण गरेका थिए ।
निरीक्षणपछि उनले तत्कालीन र दीर्घकालीन दुवै प्रकारका समाधानमा सरकारले चासो दिने आश्वासन व्यक्त गरेका थिए । घिसिङले पुल मर्मत सम्भव छ कि नयाँ पुल निर्माण गर्नुपर्ने हो भन्ने विषयमा प्राविधिकरूपमा निष्कर्षमा पुगेर आवश्यक निर्णय लिइने बताएका थिए । यस क्रममा अभियन्ता रामरिझन यादवले ध्यानाकर्षण पत्र बुझाउँदै सरकारले चासो नलिए जनस्तरबाट चन्दा संकलन गरेरै पुल निर्माण गर्ने अनुमति माग गरेका थिए ।
कमला नदीमा बनाइने पुलको ठेक्का २०६८ साल मंसिरमा २४ करोड ९१ लाख रुपैयाँमा पप्पु बिल्डर्सले लिएको थियो । पटक–पटक म्याद थपिँदा पनि काम अघि नबढेपछि २०७५ सालमा रिले अनसनसहितको नागरिक दबाबपछि पप्पु कन्सट्रक्शनको ठेक्का तोडिएको थियो ।
त्यसपछि २०७६ असोज १ मा लुम्बिनी बिल्डर्सले नयाँ सम्झौता गरेपछि काम तीव्र गतिमा अघि बढेको थियो । तर २०७८ असार १७ गते आएको बाढीले पुलको पूर्वपट्टिको पाया भासिएसँगै पश्चिमपट्टिको संरचना पनि प्रभावित हुँदै उद्घाटनको तयारीमै रहेको पुल पुनः उपयोगविहीन बन्नुपर्यो ।
लगातारको ढिलाइ, ठेकेदारको लापरबाही र सरकारी निष्क्रियताबीच अब जनस्तरबाट सुरु गरिएको यो अभियानले पुल पुनर्निर्माणमा नयाँ आशा जगाएको स्थानीयवासी बताउँछन् ।




