सर्लाही । लालबन्दी नगरपालिका १७ रानिगंजकी किशोरी प्रियंका भुजेल हत्या प्रकरणलाई लिएर विभिन्न राजनीतिक दलका भातृ संस्था र अधिकारकर्मीले हत्या प्रकरणका दोषीलाई पक्राउ गरि सत्य तथ्य सार्वजनिक गर्न दवाव मुलक कार्यक्रमहरु गरिरहँदा सोमबार सर्लाही प्रहरीले हत्याका अभियुक्तलाई सार्वजनिक गरेको छ ।
अनुसन्धानको क्रममा अभियुक्तहरुले प्रियंकासँग साउन ३१ गते राति साढे ११ बजे भेट्न गएको र घर पछाडी तीनै जना कुरा गरेको आवाज आई घर परिवारले थाहा पाएर हो–हल्ला गरेपछि उनीहरु भागेर जंगल पुगेको प्रहरीसँग बताएका छन् ।
प्रहरीका अनुसार दुई अभियुक्तसंगै भागेर जंगलमा पुगेकी प्रियंकालाई युवाहरुले घर जान दबाब दिएका थिए । घर परिवार र लोकलाजको कारण प्रियंकाले घर फर्कन अस्विकार गरेको पाईन्छ ,‘ यस अघि पटक पटक शारिरिक सम्बन्ध समेत रहेका अभियुक्त अनिषसँगै जान प्रियंकाले अडान लिएको खुलेको छ ।’
‘उनले अनिषले नलगे आत्महत्या गर्छु भन्दै खोलाको केही अग्लो ठाउँबाट हामफालेर घुक्याएको पाईन्छ ।’ ‘प्रहरीका अनुसार त्यहाँबाट हाम फाल्दा मान्छेको ज्यान जाने कुनै सम्भावना छैन । यस क्रममा अभियुक्त कृष्ण साहले ’तँ मर्ने हो भने म मारिदिन्छु’ भन्दै घाँटी थिची मार्न खोजेका थिए ।

सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले पत्रकार सम्मेलनमा भने ।’ ‘अभियुक्तहरुले खहरे खोला भएपनि वर्षाको कारण बगिरहेको पानीमा मुख थिचि कर्तव्य गरी शवलाई घटनास्थलभन्दा २ सय मिटर उत्तरमा खाल्डो भएको ठाउँमा हातले खनेरै पुरेका थिए ।’
प्रहरीले दुबै जनाको मोबाइल कल डिटेल चेक गर्दा पहिलेदेखि नै दुबै जनाको कुरा हुने गरेको पाईएको छ । अभियुक्त अनिषले यस अघि प्रियंकासँग पटक पटक शारिरिक सम्बन्ध रहेको अनुसन्धानको क्रममा बताएका छन् ।
साउन ३१ गते राति साढे ११ बजेदेखि प्रियंका घरबाट हराएकी थिइन् । प्रियंकाको बुबा राजेश भुजेलले ३२ गते इलाका प्रहरी कार्यालय लालबन्दी छोरी हराएको भन्दै खोजविन गरी दिनका लागि उजुरी दिएका थिए । लालबन्दी प्रहरी उजुरी प्राप्त भएकै मितिबाट प्रियंकाको खोजिमा जुटेको थियो ।
यस क्रममा प्रहरीले गाउँका विभिन्न मानिससँग सोधपुछ गरि सोही दिनदेखि गाउँको दुई जना युवा पनि बेपत्ता भएको पत्ता लगाएको थियो । त्यसपछि प्रहरीले शंकाको आधारमा गाउँकै दुई युवा १९ वर्षीय कृष्ण साह र अन्दाजी १८ वर्षीय अनिष दाहाललाई भदौ १ गते पक्राउ गरि सोधपुछ गर्दा उनिहरुले नै प्रहरीलाई प्रियंकाको शव उनको घरबाट ३ किलोमिटर पश्चिम उत्तर लालबन्दी ६ स्थित कालिन्जोर खोला पुल भन्दा २ सय मिटर दक्षिणको बगरमा गाडेर राखेको बताएका थिए ।
प्रहरीले जनप्रतिनिधि, स्थानीय, प्रियंकाको बुबा र अभियुक्तलाई साथमा लिएर जाँदा अभियुक्तहरुले भनेकै स्थानमा शव फेला परेपछि घटनामा उनीहरुको संलग्नता रहेको आसंकामा अनुसन्धान थालेको थियो । प्रहरीले सोमवार साँझ अभियुक्तहरुलाई सार्वजनिक गरेको भए पनि मृतकको परिवारले अझै शव बुझेका छैनन् ।






