रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित डिभिजन वन कार्यालयमा मङ्गलबार साँझ भएको तोडफोड घटनाले जिल्लामा तरंग पैदा गरेको छ । डिभिजन वन कार्यालयका प्रमुख हेमन्तप्रसाद साहका अनुसार रंगपुर साझेदारी वन उपभोक्ता समूहका केही पदाधिकारी कार्यालय समयपछिको समयमा आएर फर्निचर, कम्प्युटर तथा झ्यालका सिसासहित कार्यालयका अन्य सामग्रीमा क्षति पुर्याएका छन् ।
कार्यालय प्रमुख साहको आरोप
प्रमुख साहले कार्यालयको कामलाई अवरुद्ध गर्ने उद्देश्यले समूहका पदाधिकारीहरू नियन्त्रण बाहिर गएर तोडफोडमा उत्रिएको दाबी गरे । उनका अनुसार घटना बारे प्रहरीलाई जानकारी गराइएको छ ।
उपभोक्ता समूहको प्रतिरक्षा
तर रंगपुर साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष अशोकप्रसाद यादवले भने घटनाको जिम्मेवारी डिभिजन वन कार्यालयका प्रमुख हेमन्तप्रसाद साहकै व्यवहारमा रहेको दाबी गरे । उनका अनुसार प्रमुख साहले मिल व्यवसायीसँग साँठगाँठ गरी गुणस्तरीय काठ निश्चित समूहलाई मात्र पुग्ने गरी टेन्डर मिलाउने, दिगो वन व्यवस्थापन परियोजनाअन्तर्गत कटानी कार्यका लागि कार्ययोजना बनाउँदा आफू खुसी निकटका संस्थालाई प्राथमिकता दिन दबाब दिने र स्थानीय विकास तथा निर्माण सम्बन्धी काम अघि बढाउँदा अनावश्यक किरकिरा र अड्काउ सिर्जना गर्दै आएको जस्ता गतिविधिले उपभोक्ता समूहका पदाधिकारीलाई आक्रोसित बनाएको हो ।
भ्रष्टाचार विरोधी नीति विपरीत गतिविधि भएको आरोप
अध्यक्ष यादवले अहिलेको सरकार सुशासन र भ्रष्टाचारविरुद्ध कडाइका साथ लागिरहेको समयमा पनि प्रमुख साहले पुरानो शैलीमै कार्य गर्दै आएको आरोप लगाए । यस बारे थप छानबिन गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय सक्रिय भएको बताइएको छ ।




