धरान । धरान उपमहानगरपालिका १९ मा स्कुल बस र अटो आपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बुधबार विपेन्द्र चोकमा को १ क ७८२ नम्बरको विष्णु मेमोरियल स्कुलको बसले को १ ह ८७७४ नम्बरको अटोलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा धरान १९ का २४ वर्षीय अटो चालक निमेष भुजेल र अटोमा सवार ५५ वर्षीय सिताराम लिम्बु घाइते भएका थिए । दुवै जनालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चालक भुजेलको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख प्रहरी निरीक्षक जीवन कुँवरले जानकारी दिए ।
अटोमा सवार लिम्बुको बीपी प्रतिष्ठानमै उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न स्कुल बस र अटोलाई नियन्त्रणमा लिइएको छ भने बस चालक धरान १४ का २९ वर्षीय अमिर तामाङलाई इलाका प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।






