सिरहा । नेकपा एमालेको ११ औं महाधिवेशन यही मंसिर २७ गतेदेखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ । सोही महाधिवेशनको संघारमा पार्टीका कार्यकर्ताले चन्दा संकलन अभियान तीव्र पारेका छन् ।
एमालेका कार्याकर्ताहरु महाधिवेशनका नाममा सरकारी कार्यालयहरुमा पुगेर चन्दा माग्ने क्रम बढेको छ । महाधिवेशनको संघारमा नेकपा एमाले सिरहाले एक जना कार्यालय प्रमुखसँग ५१ हजार चन्दा लिएको विषय अहिले भाइरल छ ।
उक्त जिल्ला कमिटिले जिल्ला मालपोत कार्यालय सिरहाका प्रमुख धुर्व प्रसाद कोइरालासँग ५१ हजार चन्दा लिएको रसिद सामाजिक सञ्जालमा छरपष्ट भएको छ ।
सोही विषयमा सत्य तथ्य के हो रु भनि कोइरालालाई सोध्दा उनले सुरुमा यो विषयमा अनभिज्ञता प्रकट गरे । आफू काठमाडौंमा भएका कारण यो विषयमा केही थाहा नभएको प्रतिक्रिया दिए ।
कोइराला मंसिर पहिलो साता नै त्यहाँबाट सरुवा भएर सहकारी नियमन प्राधिकरणमा आइसकेका छन् । उनकै नाममा एमाले सिरहाले ५१ हजारको रसिद कार्यालयमा छाडेर हिडेको र सोही रसिद अहिले सामाजिक सञ्जालमा छरपष्ट भएको बुझिएको छ ।
यो विषयमा भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका अरबिन्द्र कुमार चौधरीसँग जिज्ञासा राख्दा कुनै पनि राजनीतिक दललाई चन्दा दिनका लागि बजेट शीर्षक नहुने उल्लेख गर्दै कार्यालयले पार्टीलाई चन्दा दिएको विषय अस्वीकार गरे ।
उनले भने- ‘हिजो एमालेका कार्यकर्ता आएर सो रसिद छोडेर गएका थिए । त्यही रसिद भाइरल गराएछन् । हामीले त्यसरी चन्दा लिनका लागि कुनै शीर्षक पनि हुँदैन, कुन शीर्षकमा कहाँबाट चन्दा दिन सक्छौं र ?’




