सर्लाही । सर्लाहीमा १ हजारको ९५ थान नक्कली रुपैयाँसहित एक जना पक्राउ परेका छन् । बुधबार राति अन्दाजी ९ बजेर २० मिनेटको समयमा प्रहरीले एक युवकलाई एक हजारको ९५ वटा नक्कली नोटसहित नियन्त्रणमा लिएको हो ।
विष्णु गाउँपालिका ६ स्थित प्रहरी चेक पोष्टमा इलाका प्रहरी कार्यालय फेन्हारा सर्लाहीबाट खटिएको चेकिङ टोलीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार नक्कली रुपैयाँसहित कौडेना गाउँपालिका ५ छपकैया बस्ने ३० वर्षीय फिरोज खानलाई पक्राउ गरिएको हो ।
खानलाई चेकजाँच गर्ने क्रममा अन्टेस्ट मोटरसाइकलमा भारत तर्फबाट सिमरातर्फ आउँदै गरेको अवस्थामा शंका लागी चेकजाँच गर्दा ९५ हजार नक्कली रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।




