वीरगंज । पर्सास्थित सशस्त्र प्रहरी गणमा लामो समयदेखि चलेको घुमुवा–तस्करी नेटवर्कमाथि हेडक्वार्टरले पहिलो पटक ठोस कदम चाल्दै एसपी पुरनचन्द्र भट्टका नजिकका सहयोगी रामराज यादवलाई तत्काल काठमाडौं तानेको छ ।
उच्च स्रोतका अनुसार, पाँच वर्षभन्दा बढी पर्सामा बस्ने व्यवस्था मिलाएर यादवले स्थानीय तस्करहरूसँग मिलेमतोमा अवैध असुली र माल तस्करीको ‘ठोस सञ्जाल’ सञ्चालन गर्दै आएका थिए । यस सम्बन्धमा हेडक्वार्टरमा लगातार उजुरी आउँदा यो कदम चालिएको हो ।
यद्यपि यादव तानिए पनि, एसपी भट्टका छायाँ कमान्डरका रूपमा चिनिने सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्ल अझै पर्सामा घुमुवा गतिविधि सम्हालिरहेको स्रोतले पुष्टि गरेको छ । मल्लमाथि सीधै तस्करी लाइन चलाउने र स्थानीय व्यापारीहरूबाट रकम असुल्ने आरोप लागेको छ ।
सशस्त्र प्रहरी बलले घुमुवा प्रणाली अन्त्य गर्ने नीति लिएपनि पर्सा गणमा दर्जनौं घुमुवा परिचालन, तस्करहरूसँग नियमित भेटघाट र स्थानीय व्यवसायीको ‘सेटिङ’ मिलाउने जस्ता क्रियाकलाप खुलेआम हुँदै आएको अनुसन्धानले देखाएको छ ।
हेडक्वार्टरका स्रोतले जनाएको छ कि एसपी भट्टमाथि पनि कडा सोधपुछ गरिएको छ । उनलाई भन्सार छली र तस्करी नियन्त्रणमा शून्य उपलब्धि, घुमुवा अवैध असुलीमा परिचालन, देखावटी कारबाही, स्थानीय तस्करी समूहसँग समन्वय जस्ता विषयमा लिखित र मौखिक स्पष्टीकरण दिन निर्देशन दिइएको छ ।
स्थानीय व्यापारीहरूले यादवलाई पर्सामा ‘सेटिङ म्यानेजर’को रूपमा कुख्यात भएको बताएका छन् । पूर्व डिआइजी कालिदास धौवजीसमक्ष पनि यादवविरुद्ध उजुरी पुगेको थियो । धनुषामा पर्खालिएपनि नयाँ डिआइजी आएपछि यादव पुन: पर्सामा फर्केर नेटवर्क सक्रिय भएको रिपोर्ट हेडक्वार्टरमा पुगेको थियो ।
जानकारहरूको अनुसार, महोत्तरीबाट पर्सा गणमा भट्टको सरुवा तत्कालीन गृहमन्त्री रमेश लेखकको सिफारिसमा भएको थियो । भट्ट पर्सामा आएपछि स्थानीय तस्करी चेनसँग द्रुत रूपमा ‘एडजस्ट’ भएको र हेडक्वार्टरले निगरानी बढाएको बताइएको छ ।
हेडक्वार्टरले पर्सा गणलाई ‘हाई रिस्क एरिया’ मान्दै सम्पूर्ण असुली र तस्करी गतिविधिको छुट्टै अडिट (विशेष अनुसन्धान) सुरु गरेको छ । यस सिरिजको कारबाहीले घुमुवा मात्रै नभई त्यसमा संलग्न अधिकारीसम्मको जिम्मेवारी उजागर हुने संकेत पनि दिएको स्रोतहरूले जनाएका छन् ।




