रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका ४ अन्तर्गत पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा दुई जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजेन्द्र थापा मगरका अनुसार बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एकअर्कालाई ओभरटेक गर्ने क्रममा बिहान ७:५० बजे ठोक्किँएको थियो ।
दुर्घटना हुँदा कारमा सवार करिब ८०–९० वर्षका बारा निजगढ घर भई नाम नखुलेका एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ । मृतकको आफन्तहरूलाई खबर गरिएको छ । आफन्तहरू पुगेपछि वृद्धको नाम र वतन खुल्ने इन्स्पेक्टर मगरले जानकारी दिए ।
दुर्घटनामा कार चालक बारा निजगढका करिब ३० वर्षीय दिनेश थपलिया र चन्द्रपुर ६ का २० वर्षीय डोरमणि सापकोटा घाइते भएका छन् । थपलियाको टाउको र अनुहारमा चोट लागेको छ भने सापकोटालाई बाहिरी चोट नलागेपनि छाती दुख्ने समस्या रहेको प्रहरीले जनाएको छ ।
उक्त घटनापछि ट्रक चालक मकवानपुर, हेटौँडा ७ का ५३ वर्षीय श्यामबहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।




