रौतहट । रौतहटमा प्रहरीले हुण्डी कारोबार नियन्त्रणका क्रममा ११ लाख रुपैयाँभन्दा बढी श्रोत नखुलेको रकमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शुक्रबार बिहान मौलापुर नगरपालिका ३ स्थित लाल बकैया बाँध नजिकबाट पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार विशेष चेकजाँच भइरहेको बेला मधेश प्रदेश ०३–०३३ प ३११० नम्बरको मोटरसाइकल शंका लागेर रोकिने क्रममा जाँच गरिएको थियो । सो क्रममा मोटरसाइकलको लेगार्डमा राखिएको झोलाबाट ११ लाख ४७ हजार रुपैयाँ श्रोत खुल्न नसकेको रकम बरामद भएको हो ।
प्रहरीले उक्त रकमसहित बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ११ भवानिपुर निवासी ३६ वर्षीय मुन्ना प्रसाद जयसवाललाई नियन्त्रणमा लिएको जनाएको छ । उनी हरनैयाबाट देवाही गोनाही हुँदै कटहरिया जाँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा डीएसपी विष्णुप्रदीप बस्यालले पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको जानकारी दिए । सीमावर्ती क्षेत्रमा अवैध रूपमा नेपाली मुद्रा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले निगरानी तीव्र बनाएको पनि उनले बताए ।




