सर्लाही । सर्लाही जिल्लाका इलाका प्रशासन कार्यालय अहिले नायब सुब्बाको भरमा सञ्चालन भइरहेका छन् । दरबन्दी अनुसार शाखा अधिकृत कार्यालय प्रमुख रहने व्यवस्था भएपनि लामो समयदेखि अधिकृतस्तरका कर्मचारी नहुँदा प्रशासनिक सेवा प्रभावित बनेको छ ।
इलाका प्रशासन कार्यालय हरिवनमा शाखा अधिकृत राजकुमार थापाको अनिवार्य अवकाशपछि नयाँ कार्यालय प्रमुख नपठाइँदा मङ्सिर १ गतेदेखि नायब सुब्बा मनोज मिश्रले कायममुकायम कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
मन्त्रालयले कारागार कार्यालय राजविराज, सप्तरीमा निमित्त जेलरका रूपमा कार्यरत मिश्रलाई मङ्सिर १ गतेदेखि हरिवनको जिम्मेवारी दिएर पठाएको हो । यसअघि केही समय कारागार कार्यालय मलङ्गवामा जेलरको जिम्मेवारी सम्हालेका शाखा अधिकृत विशाल चौधरीले इलाका प्रशासन कार्यालय हरिवनको कार्यभार सम्हालेका थिए ।
हरिवन कार्यालयबाट नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सेवा लिन दैनिक करिव एक सय जनासम्म सेवाग्राही आउने गरेका छन् । उता, इलाका प्रशासन कार्यालय बरहथवा भने तीन वर्षभन्दा बढी समयदेखि नायब सुब्बाकै भरमा सञ्चालन हुँदै आएको छ ।
शाखा अधिकृत रामनरेश राम सरुवा भएर गएपछि उक्त कार्यालयको जिम्मेवारी नायब सुब्बा राजेश यादवले सम्हाल्दै आएका छन् । बरहथवाबाट नागरिकता तथा राष्ट्रिय परिचयपत्र सेवा लिन दैनिक ५० भन्दा बढी सेवाग्राही आउने गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा समेत सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) को पद रिक्त छ । दरबन्दी अनुसार शाखा अधिकृत तथा सहायक सिडिओ नहुँदा प्रमुख जिल्ला अधिकारीमाथि थप कार्यभार परेको छ ।




