सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा धान कुट्ने मिलमा भएको दुर्घटनामा एक वृद्धको ज्यान गएको छ । डाक्नेश्वरी नगरपालिका ८ गम्हरिया प्रवाहा घर भएका ८० वर्षीय बिन्देश्वर यादवको शनिबार साँझ आफ्नै धान कुट्ने मिलको फित्तामा कपडा अल्झिँदा गम्भीर घाइते भई मृत्यु भएको हो ।
प्रहरीका अनुसार मिल सञ्चालनका क्रममा यादवले लगाएको धोती फित्तामा बेरिएपछि उनी गम्भीर घाइते भएका थिए । घाइते अवस्थामा उनलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीका अनुसार घटनापछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको छ ।




