सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवामा लामो समयदेखि निर्माण अधुरो रहँदै आएको पूर्व–पश्चिम हुलाकी राजमार्ग अन्तर्गतको सडकमा अन्तत: कालोपत्रे प्रक्रिया सुरु भएको छ ।
मुख्य बजार क्षेत्रमै वर्षौंदेखि सडक अलपत्र रहँदा स्थानीयवासी र यात्रु धुलो तथा अव्यवस्थाबाट हैरान हुँदै आएका थिए । पटक–पटक ध्यानाकर्षण गराउँदा पनि काम अघि नबढेपछि स्थानीयले गएको कात्तिक मध्यतिर अनिश्चितकालीन चक्काजाम गरेका थिए । त्यसपछि निर्माण व्यवसायीले पुनः काम सुरु गरेको हो ।
हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरका सूचना अधिकारी तथा इन्जिनियर रञ्जितकुमार रायका अनुसार शनिबारदेखि कालोपत्रे अघिको प्रारम्भिक चरण अन्तर्गत प्राइम हाल्ने काम थालिएको छ । उनले दुईदेखि तीन दिनभित्र प्राइम हाल्ने काम सम्पन्न हुने जानकारी दिए ।
प्राइम सुक्न केही दिन लाग्ने र त्यसपछि अन्तिम चरणको कालोपत्रे सुरु गरिने उनको भनाइ छ । पूर्व–पश्चिम हुलाकी राजमार्ग अन्तर्गत सर्लाहीका अन्य खण्डमा कालोपत्रे सम्पन्न भइसके पनि मलङ्गवा बजार क्षेत्रको करिब सात सय मिटर सडक अझै अधुरो रहेको छ ।
टावर चोकदेखि झन्डा बजारसम्मको उक्त सडक खण्ड लामो समयदेखि अलपत्र रहँदा धुलोले स्थानीय जीवन कष्टकर बनेको थियो । इन्जिनियर रायका अनुसार प्राइम हाल्ने काम सकिना साथ धुलोको समस्या तत्काल कम हुनेछ ।
निर्माण व्यवसायीले आगामी पुस १५ गतेसम्म सम्पूर्ण कालोपत्रे कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएको उनले जानकारी दिए । मलङ्गवा बजार क्षेत्रको सडक कालोपत्रेका लागि हिमडुङ एन्ड ठोकर–हिरा एन्ड नमिता जेभीले ठेक्का पाएको छ ।
सडक विभागले यसअघि निर्माण व्यवसायीलाई सात पटकसम्म म्याद थप गरिसकेको छ । स्थानीय रञ्जन सिंहका अनुसार एक दिन काम रोकिए पनि चक्काजाम गर्ने चेतावनीपछि मात्रै ठेकेदार पछिल्लो एक महिनादेखि नियमित रूपमा काममा जुटेको हो ।




