सप्तरी । सप्तरी जिल्ला प्रहरी कार्यालयले अदालतको फैसला कार्यान्वयनको क्रममा विभिन्न मुद्दामा जरिवाना तोकिएर फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सप्तरी जिल्ला अदालत, राजविराजबाट विभिन्न मुद्दामा जरिवाना फैसला भई फरार सूचीमा रहेका व्यक्तिहरूलाई खोजतलास गरी नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेहरूमा कुटपिट मुद्दामा जरिवाना पाएका डाक्नेश्वरी नगरपालिका ७ का गजेन्द्र मरिक, शिविन्द मरिक, गुरिया देवी मरिक र भरत यादव रहेका छन् । त्यसैगरी कुटपिट तथा लुटपिट मुद्दामा जरिवाना पाएका महादेवा गाउँपालिका १ का सुरेन भन्ने सुरेन्द्र यादव र बिरेन भन्ने बिरेन्द्र यादवलाई पनि पक्राउ गरिएको छ ।
अवैध साल काठ चिरान तथा चोरी निकासी मुद्दामा रुपनी गाउँपालिका ६ का राजन तामाङ पक्राउ परेका छन् भने लुटपिट मुद्दामा साविक लोहजरा गाविस ९ का किरणराज मिश्र, शेखरराज मिश्र, निलमराज मिश्र, शान्तिदेवी मिश्र र प्रकाशराज मिश्रलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यसैगरी झुठा नेपाली नागरिकता प्रमाण पत्र सम्बन्धी मुद्दामा राजविराज नगरपालिका १६ का ऋषिनारायण देवसमेत पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कारबाहीका लागि सप्तरी जिल्ला अदालत, राजविराजमा बुझाइएको छ । पक्राउ परेका प्रतिवादीहरूबाट कुल एक लाख नौ हजार दुई सय ९५ रुपैयाँ जरिवाना असुल उपर हुने प्रहरी कार्यालयले जनाएको छ ।




