सर्लाही । सर्लाहीको बरहथा नगरपालिकाबाट बेल्ही तर्फ जाने नहरको बाटोमा प्रहरीले ३१ किलोभन्दा बढी गाँजा सहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, बरहथवा नगरपालिका १२ स्थित हरिवनबाट बेल्ही तर्फ लागुऔषध ओसार–पसार भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको टोलीले सशस्त्र कारबाही गरेको हो ।
प्रहरीले प्रदेश १–०२–०५२ प ३५०६ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकलमा सवार दुई युवकको जाँच गर्दा ६ पोका गाँजासहित पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरूमा लालबन्दी नगरपालिका १४ का जितबहादुर स्याङतानका २९ वर्षीय छोरा कान्छाराम स्याङ र सोही स्थानका टेकबहादुर ठोकरका २५ वर्षीय छोरा मानबहादुर ठोकर रहेका छन् ।
उनीहरूका साथबाट मोटरसाइकल, दुई वटा मोबाइल, ७१ हजार ५७५ नेपाली रुपैयाँ र ९ हजार ७ सय भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी सरोज राईका अनुसार दुबै जना विरुद्ध सर्लाही जिल्ला अदालतबाट लागुऔषध ओसार–पसार कसुरमा ७ दिनको म्याद लिइ आवश्यक अनुसन्धान जारी रहेको छ ।




