धनुषा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको विदेह नगरपालिकास्थित शंकर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुर र दिवंगत लेखापाल अरुणकुमार कुशियैतकी पत्नी मतिकुमारी सरितादेवी कुशियैतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याएको आरोपमा अख्तियारले उनीहरूलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले प्रतिवादीहरूविरुद्ध आठ लाख ६२ हजार १५२ रुपैयाँ ६५ पैसा बिगो कायम गरी कैद र जरिवाना दुवै सजायको मागदाबी गरेको छ । अख्तियारका अनुसार विद्यालयमा आईटी ल्याब स्थापना तथा व्यवस्थापनका नाममा प्राप्त सरकारी रकम दुरुपयोग गरिएको पाइएको हो ।
आर्थिक वर्ष २०७६/०७७ मा विदेह नगरपालिकाबाट आईटी ल्याब व्यवस्थापन शीर्षकमा विद्यालयलाई साढे ६ लाख रुपैयाँ उपलब्ध गराइएको थियो । तर प्रधानाध्यापक ठाकुर र लेखापाल कुशियैतको मिलेमतोमा कुनै पनि सामग्री खरिद नगरी उक्त रकम हिनामिना गरिएको अख्तियारको ठहर छ ।
त्यस्तै, आव २०७८/०७९ मा ल्याबका लागि प्रोजेक्टर खरिद गर्न ८७ हजार ५०० रुपैयाँ र २०७९/०८० मा कम्प्युटर खरिदका लागि एक लाख २४ हजार ६५२ रुपैयाँ प्राप्त भएको भएपनि सो रकमबाट पनि कुनै सामान खरिद नगरी व्यक्तिगत लाभ लिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ । उक्त खर्च देखाउन नगरपालिकामा नक्कली कागजात पेश गरिएको पनि अख्तियारको दाबी छ ।
लेखापाल अरुणकुमार कुशियैतको मृत्यु भइसकेकाले बिगो बराबरको रकम असुल उपर गर्न उनकी श्रीमती मतिकुमारी सरितादेवी कुशियैतलाई प्रतिवादी बनाइएको आयोगले स्पष्ट पारेको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम प्रतिवादीहरूलाई बिगो बराबर कैद र जरिवाना सजायको माग गर्दै मुद्दा दायर गरेको हो ।






