सप्तरी । सप्तरीको राजगढ गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डललाई उच्च अदालत जनकपुर, राजविराज इजलासको आदेशपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । यो आदेश तत्कालीन गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलको विवादास्पद गतिविधिसँग सम्बन्धित छ ।
मण्डलविरुद्ध बेल्ही चपेना गाविस ३ स्थित रामजानकी मन्दिरका पुजारी जन्त्रीदास बैरागीको हत्या अभियोग चलिरहेको छ । अध्यक्ष मण्डलले वडाध्यक्षलाई कार्यवाहक घोषणा गरी फरार भएपछि उपाध्यक्ष मण्डल अदालत पुगेकी थिइन् ।
उच्च अदालतका न्यायाधीश उज्ज्वल शुक्लको एकल इजलासले वडाध्यक्षलाई दिइएको पत्र गैरकानुनी ठहर गर्दै रेणुदेवी मण्डललाई अन्तरिम रूपमा कार्यवाहक अध्यक्षको रूपमा काम गर्न अनुमति दिएको छ । गत कार्तिक १७ गते अध्यक्ष मण्डलले वडा नम्बर ४ का अध्यक्ष अशोककुमार साहलाई मंसिर १९ बाट लागू हुने गरी कार्यवाहक बनाउने पत्र दिएका थिए ।
उपाध्यक्ष मण्डलले यसलाई कानुनविपरीत भएको भन्दै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ (४) खण्ड ख (२) अनुसार आफूले कार्यवाहकको जिम्मेवारी पाउनुपर्ने माग गर्दै अदालतमा अन्तरिम आदेशको लागि निवेदन दर्ता गरेकी थिइन् । अदालतले उक्त पत्रलाई गैरकानुनी ठहर गर्दै कार्यवाहकको जिम्मेवारी निर्वाध रुपमा निर्वाह गर्न आदेश जारी गरेको छ ।
उक्त हत्या घटना ३ साउन २०५५ मा भएको हो । यस विषयमा मण्डलसहित सात जना अभियुक्त अदालतको म्यादभित्र हाजिर नहुँदा र प्रहरीले पक्राउ नगरेपछि जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले १४ फागुन ०७९ मा मुद्दा मुलतबीमा राखेको थियो ।
१५ वैशाख ०७८ मा पक्राउ पुर्जी जारी भए पनि ओमप्रकाश मण्डल ३० वैशाख ०७९ मा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनी निर्वाचित भएको झन्डै १० महिनापछि मात्र मुद्दा मुलतबी भएको थियो ।
अभियोग पत्रअनुसार अध्यक्ष मण्डलसहित उनका बुवाहरू गंगाराम मण्डल, रामनारायण मण्डल, रामदेव सदा मुसहर, मनिक शर्मा, बौकाई भनिने बच्चा यादव, भोलिचन सदा मुसहरले मिलेर पुजारी बैरागीको हत्या गरेको आरोप छ । घटनाको पृष्ठभूमि मन्दिरको ११ बिघा जग्गाको धान मन्दिर दिने विषयमा विवाद भएको बताइएको छ ।




