जनकपुरधाम । मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकारले विश्वासको मत पाउने पूर्व सत्ता साझेदार दलहरुबीच खटपट सुरु भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारले पूर्णता नपाउँदै जनमत पार्टीले सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।
चालु आर्थिक वर्षमा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय अन्तर्गत १० हजार रोजगारी सृजना गर्ने कार्यक्रमका लागि बजेट विनियोजन गरिएको थियो । तर हाल सो मन्त्रालयको जिम्मेवारी नेकपा समाजवादीका कनिश पटेललाई दिइएपछि, जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष बसन्त कुशवाहाले सामाजिक सञ्जालमार्फत सरकारबाट अलग हुने चेतावनी दिएका छन् ।
कुशवाहाले फेसबुकमा लेखेका छन्, “जनमत पार्टीको उद्देश्य बमोजिम सरकारमा सुनिश्चितता नभए, मधेश प्रदेश सरकारबाट हामी अलग हुन तयार हुनुपर्छ ।”
सो घटनापछि, मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले सोमबार मात्र माओवादी केन्द्रका जवाहर कुशवाहालाई ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री र लोसपा नेपालकी रानीकुमारी तिवारीलाई शिक्षा तथा संस्कृति मन्त्रीमा नियुक्त गरेका थिए। त्यस्तै, एकीकृत समाजवादीका कनिश पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
जनमत पार्टीले मन्त्रालय हस्तान्तरण र रोजगारी कार्यक्रम अलपत्र परेको विषयमा असन्तुष्टि जनाउँदै सत्ता साझेदारीमा चुनौती प्रस्तुत गरेको विश्लेषकहरूले बताएका छन् ।




