बारा । बाराको परवानीपुर गाउँपालिका ४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ । बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुबेको अवस्थामा शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय परवानीपुर तथा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी टोली कल्भर्ट मुनि पानीमा डुबेको अवस्थामा शव देखिएको भन्ने सूचना प्राप्त भएपछि घटनास्थलमा पुगेको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा मृतकले कालो पाइन्ट र पहेँलो कुर्ताजस्तो सर्ट लगाएको, उचाइ करिब ५ फिट ६ इन्च रहेको र नाम अजय यादव हुन सक्ने बुझिएको प्रहरीले जनाएको छ ।
तर मृतकको स्थायी ठेगाना खुल्न नसकेको र हालसम्म आफन्तको सम्पर्क नआएको प्रहरीले जानकारी दिएको छ । मृतकलाई चिन्ने वा आफन्तजनले जिल्ला प्रहरी कार्यालय बारामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




