सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिकामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । नगरपालिकाको वडा नम्बर १ फत्तेपुर निवासी ५० वर्षीय रविराज नेपालीको शव खेतको आलीमा भेटिएको हो ।
प्रहरीका अनुसार नेपाली मङ्गलबार बिहान करिब ११ बजे घरबाट करिब दुई किलोमिटर टाढा रहेको खेतमा काम गर्न जाने भन्दै निस्किएका थिए । तर बेलुकासम्म घर नफर्किएपछि परिवार र स्थानीयले खोजतलास सुरु गरेका थिए ।
खोजीका क्रममा मङ्गलबार साँझ करिब ५ः३० बजे वडा नम्बर २ टेङ्ग्रास्थित भिम खतिवडाको खेतको आलीमा उनी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको र मृत्यु सम्बन्धी कारण खुल्न थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




