सर्लाही । सर्लाहीको बलरा नगरपालिकाको वडा नम्बर ७ डुमरियालाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । बालविवाहलाई निरुत्साहित गर्दै बालबालिकाको सुरक्षित र उज्यालो भविष्य निर्माण गर्ने उद्देश्यले वडालाई औपचारिक रूपमा बालविवाह मुक्त घोषणा गरिएको हो ।
उमेर नपुगी गरिने विवाह कानुनी अपराध भएको र त्यसले बालबालिकाको शिक्षा, स्वास्थ्य तथा भविष्यमा गम्भीर असर पार्ने विषयमा जनचेतना अभिवृद्धि गर्दै वडालाई बालविवाह मुक्त घोषणा गरिएको आयोजकले जनाएका छन् ।
आज आयोजित विशेष समारोहमा बलरा नगरपालिकाका नगरप्रमुख रामाशंकर कुशवाहा, वडा नम्बर ७ का वडाध्यक्ष प्रविनकुमार सिंह (अनमोल), वडा सचिव, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, गैरसरकारी संस्थाका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको सहभागितामा बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।
बलरा नगरपालिका र सेभ द चिल्ड्रेनको सहयोगमा आवश्यक मापदण्ड पूरा भएपछि वडा नम्बर ७ डुमरियालाई बालविवाह मुक्त वडा घोषणा गरिएको बताइएको छ ।




