विराटनगर । साउथ एसियन स्कूल अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज, विराटनगरले बीबीए र बीएचएम कार्यक्रमका नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्न आज कलेज परिसरमा विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डिन, डा. सन्देश दास श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि डा. सन्देश दास श्रेष्ठले विद्यार्थीहरूलाई अध्ययनमा अनुशासन, सीप विकास र व्यवहारिक ज्ञानमा जोड दिन आग्रह गर्दै पर्यटन तथा आतिथ्य व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा सास्थम कलेजको योगदान महत्वपूर्ण रहेको बताए ।
उनले कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै पूर्वाञ्चल क्षेत्रमै होटल व्यवस्थापन अध्ययनमा अग्रणी संस्थाको रूपमा पहिचान बनाएको उल्लेख गरेका थिए ।कार्यक्रममा कलेजका विद्यार्थीहरूले नवप्रवेशीहरूलाई स्वागत गर्दै सांस्कृतिक नृत्य, कल्चर र्याम्प, गीत र मनोरञ्जनात्मक प्रस्तुतीमार्फत कार्यक्रमको रंगारंगता थपेका थिए ।
क्याम्पस प्रमुख विनय केसीका अनुसार, शैक्षिक सत्र २०८५ मा कलेजमा विभिन्न तहमा उल्लेख्य संख्यामा विद्यार्थी भर्ना भएका छन् । बीएचएमतर्फ २२औँ ब्याचमा १४४, बीबीएतर्फ १७औँ ब्याचमा ९६, र एमबीएतर्फ तेस्रो ब्याचमा ३३ जना विद्यार्थी अध्ययनरत छन् । यसै वर्षदेखि कलेजले एमएचएचएम कार्यक्रम पनि सञ्चालनमा ल्याएको उनले जानकारी दिए ।
कार्यक्रममा सास्थम कलेजका प्रवन्ध निर्देशक रोशन बहादुर थापा, क्याम्पस प्रमुख विनय केसी, प्रशासन प्रमुख राजेश गुरुङ, बीएचएम कार्यक्रम निर्देशक शैलेन्द्र गणेश, बीबीए कार्यक्रम निर्देशक केशव भण्डारी, प्लस टु को-अर्डिनेटर सुशिल खनाल र क्याम्पस व्यवस्थापक महेश्वर सिंह लगायतको उपस्थिति रहेको थियो ।






