सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिकामा आयोजित एक विवाह समारोहमा नाच्ने क्रममा जेनेरेटरमा कपाल फस्दा गम्भीर घाइते भएकी एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।
मङ्सिर ११ गते राति बोदेबर्साइन नगरपालिका वडा नम्बर १ महनौरीस्थित प्रमोद यादवको छोरीको विवाह समारोह थियो । सोही समारोहमा नाचिरहेकी शम्भुनाथ नगरपालिका वडा नम्बर ३ घर भएकी १४ वर्षीया खुश्बु पालको कपाल जेनेरेटरमा फस्दा टाउकोको कपाल र छाला तानिएर गम्भीर घाइते भएकी थिइन् ।
घटनापछि स्थानीयवासीले तत्काल घाइते बालिकालाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज लगेका थिए । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगर र मङ्सिर १२ गते थप उपचारका लागि कीर्तिपुर अस्पताल, काठमाडौं पठाइएको थियो ।
उपचारपछि काठमाडौंबाट घर ल्याउने क्रममा अवस्था गम्भीर भएपछि प्रादेशिक अस्पताल सिरहा लगिएको थियो । त्यहाँ शुक्रबार राति १:३० बजे चिकित्सकले खुश्बु पाललाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायबत्र उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए ।
मृतकको शव हाल प्रादेशिक अस्पताल लहानमै रहेको छ भने घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




